84
काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्व जिल्ला सभापति तथा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
कोइरालाले खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। २०३८ सालदेखि विद्यार्थी राजनीतिमार्फत कांग्रेसमा सक्रिय उनी २०६२ देखि २०७३ सालसम्म ११ वर्ष लमजुङ कांग्रेसको जिल्ला सभापति रहेका थिए।
उम्मेदवारी दर्तापछि कोइरालाले नेता, कार्यकर्ता र शुभेच्छुकको सुझावका आधारमा आफूले उम्मेदवारी दिएको बताए। उनले पार्टी संगठनलाई थप प्रभावकारी बनाउँदै सक्रिय नेता–कार्यकर्ताको सम्मान, हकहित र भूमिकाका लागि काम गर्ने बताएका छन्।
विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदै पटक–पटक जेल परेका कोइराला हाल सुन्दरबजार नगरपालिकाका नगर प्रमुखसमेत छन्।