सभापतिको जति हक, भुइँमा बस्ने कार्यकर्ताको पनि हुन्छ : गगन थापा

07 October, 2026 101 Views
सभापतिको जति हक, भुइँमा बस्ने कार्यकर्ताको पनि हुन्छ : गगन थापा
101

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सभापतिको जति नै हक र हैसियत सामान्य कार्यकर्ताको पनि हुने बताएका छन् । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई एउटै परिवारका रूपमा अघि बढाउनुपर्ने बताए । उनले महाधिवेशनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई एकअर्कालाई हराउने नभई पार्टीको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा हुने प्रतिस्पर्धाका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

उनले महाधिवेशनमा कुनै एक पक्षले जित्दा अर्को पक्षले सबै कुरा गुमाउने अवस्था नरहने बताए । नेतृत्व चयनपछि सबै नेता–कार्यकर्ता एउटै पार्टीमा रहेर अघि बढ्ने भएकाले निर्वाचनको परिणामलाई व्यक्तिगत जित–हारका रूपमा लिन नहुने उनको भनाइ थियो ।

‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने भन्नेमा हाम्रो प्रतिस्पर्धा हो । जित्नेले सबै कुरा जित्ने र हार्नेले सबै कुरा हार्ने भन्ने होइन,’ थापाले भने ।

थापाले पार्टीमा सभापति वा अन्य कुनै पद स्थायी हैसियत नभई निश्चित अवधिका लागि दिइने जिम्मेवारी मात्र भएको बताए । नेतृत्वमा पुगेका व्यक्तिले त्यसलाई विशेष अधिकार वा व्यक्तिगत प्रतिष्ठाको विषय बनाउन नहुने उनको भनाइ थियो ।

उनले आफू र पार्टीको सामान्य कार्यकर्ताबीच पार्टीभित्रको अधिकार र हैसियतमा ठूलो अन्तर नरहेको स्पष्ट पारे ।

‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ, त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ उनले भने ।

सभापतिको पदलाई सम्मान वा विशेष हैसियतका रूपमा बुझ्नुभन्दा पार्टी सञ्चालनको जिम्मेवारीका रूपमा लिनुपर्ने थापाले बताए । उनका अनुसार सभापति पद निश्चित समयका लागि पार्टीले दिएको जिम्मेवारी भएकाले त्यसलाई व्यक्तिगत शक्तिको स्रोतका रूपमा प्रयोग गर्न नहुनेमा ध्यान दिनुपर्छ ।

‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो,’ थापाले भने ।

थापाले महाधिवेशनबाट नेतृत्व चयन भए पनि त्यसपछि सबै पक्ष मिलेर पार्टीलाई अघि बढाउनुपर्ने सन्देश दिएका छन् । नेतृत्वमा आउने व्यक्ति र अन्य नेता–कार्यकर्ताबीच सहकार्य र समानताको भावना कायम भए मात्र कांग्रेसलाई बलियो बनाउन सकिने उनको भनाइ थियो ।

Related Post