काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर आसपासका हिमचट्टान अझै भत्किन सक्ने जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिमचट्टान खसेमा त्यसले थप ठूलो जोखिम निम्त्याउन सक्ने सम्भावना छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीपछि उत्पन्न जोखिमको निरन्तर मूल्याङ्कन भइरहेको छ। त्यसका लागि मन्त्रालयले विशेषज्ञ परामर्श र अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।
हालै गरिएको रिमोट सेन्सिङ तस्वीरको तुलनात्मक विश्लेषणमा ग्यिरोङ साङ्पो नदी बेसिनमा पहिचान भएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन नदेखिएको मन्त्रालयले जनाएको छ। ती हिमतालहरू अहिले पनि समग्रमा स्थिर अवस्थामा रहेको बताइएको छ।
मंगलबार नेपाली समयअनुसार बिहान ५ः४५ बजे खिचिएको ड्रोन तस्वीरले छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको अधिकांश पानी बगेर निकास भइसकेको देखाएको छ। क्रेटरभन्दा तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य रहेको जनाइएको छ।
तर, क्रेटर वरपरका हिमनदी तथा हिमखण्ड भत्किने सम्भावना भने अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयले चेतावनी दिएको छ।