बाढीको असर पर्यटक आगमनमा, अगस्टमा नेपाल आउने विदेशी ३.६ प्रतिशत घटे

बाढीको असर पर्यटक आगमनमा, अगस्टमा नेपाल आउने विदेशी ३.६ प्रतिशत घटे
74

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको असर नेपालको पर्यटन क्षेत्रमा पनि देखिएको छ। सन् २०२६ को अगस्टमा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो।

नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा ८५ हजार ४४४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को अगस्टमा आएको ८८ हजार ६८० भन्दा ३ हजार ३३६ कम हो। अर्थात्, एक वर्षको तुलनामा पर्यटक आगमन ३.६ प्रतिशतले घटेको छ।

अगस्ट २६ मा रसुवागढी क्षेत्र हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। बाढीका कारण कैलाश मानसरोवर तथा गोसाइँकुण्ड यात्रामा रहेका आन्तरिक र विदेशी पर्यटकसमेत प्रभावित भएका थिए।

बाढीपछि विभिन्न मुलुकले नेपाल यात्रासम्बन्धी ट्राभल एडभाइजरी जारी गर्दै सावधानी अपनाउन आग्रह गरेकाले त्यसको असर पर्यटक आगमनमा परेको देखिन्छ।

देशगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन्। यो कुल आगमनको ३०.८७ प्रतिशत हो। भारतपछि चीनबाट १० हजार ३०४ पर्यटक आएका छन्। चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको अगस्टको तुलनामा ३६.७८ प्रतिशतले बढेको छ।

त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३, बंगलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ पर्यटक नेपाल आएका छन्। श्रीलंकाबाट आउने पर्यटकमा अघिल्लो वर्षको तुलनामा ४६.२४ प्रतिशत वृद्धि भएको छ।

क्षेत्रगत रूपमा दक्षिण एसियाबाट सबैभन्दा धेरै ४१ हजार ४२२ जना पर्यटक नेपाल आएका छन्। अन्य एसियाली मुलुकबाट १८ हजार २७५, युरोपबाट १० हजार ८७५ र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ पर्यटक आएका छन्।

अमेरिकी मुलुकबाट ७ हजार ४७३, मध्यपूर्वबाट १ हजार १० र अफ्रिकाबाट ३३८ पर्यटक नेपाल आएका छन्। अमेरिकी मुलुकबाट आउने पर्यटक २.४७ प्रतिशत, मध्यपूर्वबाट ६.९९ प्रतिशत र अफ्रिकाबाट ४.९७ प्रतिशतले बढेका छन्।

केही बजारबाट भने उल्लेख्य वृद्धि देखिएको छ। रुसबाट अगस्टमा ७६९ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५१.३८ प्रतिशत बढी हो। युक्रेनबाट २१६ पर्यटक आएका छन् भने त्यहाँबाट आउने पर्यटकमा ८३.०५ प्रतिशत वृद्धि भएको छ।

कम्बोडियाबाट ६८ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २७७.७८ प्रतिशतको वृद्धि हो। त्यस्तै भुटानबाट १ हजार २८८, मलेसियाबाट १ हजार ६१८ र थाइल्यान्डबाट ६८१ पर्यटक नेपाल आएका छन्। यी मुलुकबाट पर्यटक आगमन क्रमशः ४९.२५, १३.०७ र १९.८९ प्रतिशतले बढेको बोर्डको तथ्यांकमा उल्लेख छ।

Related Post