काठमाडौं । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई प्रहरीले डीएनए परीक्षणका लागि नमुना दिन आग्रह गरेको छ। फेला परेका शव तथा शरीरका अंग आफ्ना आफन्तको हो वा होइन भन्ने यकिन गर्न डीएनए परीक्षण गर्न सकिने प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार नजिकको जिल्ला प्रहरी कार्यालय वा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको ल्याबमा रगतको नाता पर्ने आफन्तको रगतको नमुना बुझाउन सकिनेछ। नमुना दिने व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्नेछ।
बेपत्ता व्यक्तिका आफन्त विदेशमा रहेको अवस्थामा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको विदेशमै डीएनए प्रोफाइलिङ गराएर नेपाल पठाउन सकिने प्रहरीले जनाएको छ। विदेशमा तयार गरिएको डीएनए प्रोफाइलको सफ्टकपी dnacodis@nepalpolice.gov.np मा पठाउन आग्रह गरिएको छ।
प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका ९ सयभन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्।