काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीप्रति जापानले गम्भीर चासो जनाउँदै बाढीपीडितका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ भने सम्पर्कविहीन पाँच जापानी नागरिकको तत्काल उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेको छ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले मंगलबार प्रधानमन्त्री शाहसँग टेलिफोन वार्ता गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरिन्। उनले विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति जनाउँदै नेपालले भोगिरहेको संकटप्रति जापान गम्भीर रहेको बताइन्।
नेपालजस्तै जापान पनि बारम्बार प्राकृतिक विपद्को सामना गर्ने मुलुक भएको उल्लेख गर्दै ताकाइचीले विपद्का बेला दुई देशबीचको सहकार्य अझ महत्वपूर्ण हुने धारणा राखिन्।
वार्तामा सम्पर्कविहीन पाँच जापानी नागरिकको खोज तथा उद्धारलाई प्राथमिकता दिन उनले नेपाल सरकारसँग आग्रह गरिन्। प्रधानमन्त्री शाहले उनीहरूको अवस्थाबारे जानकारी लिन सरकारका सबै संयन्त्र परिचालन गरिएको जानकारी गराए। जापानले समेत आफ्ना नागरिकको खोजीका लागि आवश्यक स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ।
बाढीपीडितका लागि जापानले पाल, कम्बललगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। ती सामग्री जापानको विदेशी सहायता प्रयोजनका लागि छुट्टै राखिएको आपत्कालीन मौज्दातबाट पठाइने जनाइएको छ।
ताकाइचीले नेपालले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय संघसंस्थामार्फत थप सहयोग तथा आपत्कालीन उद्धार टोलीको सहयोग लिन सक्ने बताएकी छन्।
संयोगवश, नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको दिनमै दुई देशका प्रधानमन्त्रीबीच यस्तो वार्ता भएको हो। वार्तामा दुवै प्रधानमन्त्रीले संकटका बेला सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।