एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, बनिन् वरिष्ठ नेता

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, बनिन् वरिष्ठ नेता
27

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने गरी सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयको उक्त प्रस्ताव अनुमोदन गरेको हो।

यससँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। राष्ट्रपति बन्नुअघि उनी एमालेकी उपाध्यक्ष थिइन्। २०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भएपछि उनले पार्टीको नेतृत्व तथा सक्रिय राजनीतिक जिम्मेवारी छाडेकी थिइन्।

राष्ट्रपति पदबाट अवकाश पाएपछि भण्डारीको एमालेमा पुनरागमनलाई लिएर पार्टीभित्र लामो समय बहस भएको थियो। यसअघि राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेकी व्यक्ति पुनः सक्रिय दलगत राजनीतिमा फर्कन नहुने तर्क गर्दै उनको पार्टी सदस्यता नवीकरण रोकिएको थियो।

गत जेठमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि उनको पार्टी राजनीतिमा पुनरागमनको बाटो खुलेको थियो। त्यसपछि उनलाई पार्टीमा कुन जिम्मेवारी दिने भन्ने विषयमा छलफल हुँदै आएको थियो।

भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णयसँगै एमालेको नेतृत्व संरचनामा पनि महत्वपूर्ण परिवर्तन भएको छ। यसअघि दोस्रो वरीयतामा रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ अब तेस्रो वरीयतामा पुगेका छन्।

त्यस्तै, एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ। सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।

यद्यपि एमालेको हालको विधानमा ‘वरिष्ठ नेता’ पदको स्पष्ट व्यवस्था नरहेको विषय पनि सार्वजनिक विवरणमा उल्लेख गरिएको छ। भण्डारीलाई नयाँ जिम्मेवारी दिने निर्णय पार्टीको नेतृत्व संरचना पुनर्संरचनाकै क्रममा गरिएको हो।

Related Post