काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको लोगो र मूल नारा सार्वजनिक गरेको छ।
कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको जानकारी दिएको हो।
कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुनेछ। महाधिवेशनअघि विभिन्न तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ।
महाधिवेशनअन्तर्गत असोज १० गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आयोजना हुँदैछ। यी अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइनेछ।
त्यसपछि असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनले पार्टीको आगामी नेतृत्व, नीति तथा सांगठनिक दिशाबारे महत्वपूर्ण निर्णय गर्नेछ।
कांग्रेसले सार्वजनिक गरेको नयाँ लोगो र नारालाई आगामी महाधिवेशनको प्रमुख पहिचानका रूपमा प्रयोग गर्ने जनाएको छ।