एसिया कप राइजिङ स्टार्स : यूएईलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा नेपाल

एसिया कप राइजिङ स्टार्स : यूएईलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा नेपाल
52

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज (आइतबार) आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’ को खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ११.३ ओभरमा २६ रनमै समेटिएको थियो।

यता, यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ६१ रनले पराजित भएको थियो। २४६ रनको लक्ष्य पछ्याएको यूएई १८४ रनमै अलआउट भएको थियो।

पहिलो खेलमा पराजय बेहोरेका दुवै टोली आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले नेपालका लागि आजको खेल अघिल्लो चरणको सम्भावना कायम राख्न महत्त्वपूर्ण हुनेछ।

नेपालले समूह चरणको अन्तिम खेल मंगलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्नेछ।

 

Related Post