गगनसँग सभापतिमा भिड्दै उनकै पूर्वगणित शिक्षक, कांग्रेसमा रोचक भिडन्त

07 October, 2026 143 Views
गगनसँग सभापतिमा भिड्दै उनकै पूर्वगणित शिक्षक, कांग्रेसमा रोचक भिडन्त
143

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदका लागि असोज २२ गते बिहीबार निर्वाचन हुँदैछ ।

तीन उम्मेदवारमध्ये काठमाडौं तारकेश्वर–२ का श्यामकृष्ण खड्कीको उम्मेदवारी भने गगन थापासँगको पुरानो सम्बन्धका कारण चर्चामा आएको छ । खड्की कुनै समय गगन थापाका शिक्षक थिए । अहिले भने उनीहरू कांग्रेसको सर्वोच्च नेतृत्वका लागि आमनेसामने भएका छन् ।

खड्कीले २०४२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए । उनी हाल काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि छन् भने यसअघि सोही क्षेत्रको क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

राजनीतिसँगै लामो समय शिक्षण पेसामा रहेका खड्कीले सिद्धार्थ वनस्थली स्कुलमा माध्यमिक तहमा गणित पढाएका थिए । त्यही क्रममा उनले कक्षा १० मा गगन थापालाई गणित विषय पढाएको बताउँदै आएका छन् । अहिलेको सभापति निर्वाचनमा समेत उनले आफ्नो प्रचार सामग्रीमा आफूलाई गगनका पूर्वशिक्षकका रूपमा प्रस्तुत गरेका छन् ।

खड्कीले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने, विधानको पूर्ण कार्यान्वयन गर्ने, संगठन सुदृढ गर्ने तथा पार्टी एकता कायम गर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

यता, सभापतिका अर्का उम्मेदवार गगन थापा पनि नेविसंघको राजनीतिबाट कांग्रेसको मूलधारमा आएका हुन् । सांसद, केन्द्रीय सदस्य र महामन्त्री हुँदै उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थिए । अहिले उनी पुनः सभापति पदमा प्रतिस्पर्धामा छन् ।

त्यस्तै, किशोरसिंह राठौर पनि नेविसंघको राजनीतिबाट कांग्रेसमा स्थापित भएका नेता हुन् । नेविसंघको अध्यक्षसमेत भइसकेका राठौर कांग्रेस केन्द्रीय सदस्य तथा सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी बर्दियाबाट महाधिवेशन प्रतिनिधि हुन् ।

यसरी कांग्रेसको १५औँ महाधिवेशनमा तीन जनाबीच सभापति पदका लागि प्रतिस्पर्धा हुँदा गगन थापा र श्यामकृष्ण खड्कीबीचको शिक्षक–विद्यार्थी सम्बन्धले निर्वाचनलाई थप चर्चामा ल्याएको छ ।

Related Post