गोरखाका समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता, विकासमा पछि परेको भन्दै स्थानीयको गुनासो

01 November, 2026 133 Views
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता, विकासमा पछि परेको भन्दै स्थानीयको गुनासो
133

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखाको विकास निर्माण, कृषि, पर्यटन तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा सहभागीहरूले जिल्लाको विकासले गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

सहभागीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको, पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पर्यटन प्रवर्द्धनमा पर्याप्त पहल नभएको र कृषि उत्पादनले बजार तथा उचित मूल्य नपाएको गुनासो गरेका थिए। सडक, पुललगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग थियो।

त्यस्तै, स्थानीय उत्पादनले बजार नपाउने समस्या अन्त्य गर्न किसानका उत्पादनलाई प्राथमिकता दिनुपर्ने, उचित मूल्य सुनिश्चित गर्नुपर्ने तथा उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्ने विषय उठाइएको थियो।

उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उपलब्ध स्रोतसाधनको सदुपयोग गरी आर्थिक गतिविधि विस्तार गर्न र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए।

सहभागीका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधानका लागि काम गर्ने बताए। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै उनले जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाए।

यसैबीच, केही साताअघि बूढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण अघि बढाइएको विषयमा सहभागीहरूले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए। बाढीका कारण प्रभावित आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए।

अन्तरक्रियामा सहभागीहरूले गोरखालाई अब आश्वासनभन्दा परिणाममुखी काम आवश्यक रहेको भन्दै विकास निर्माण, कृषि, पर्यटन र उद्योग क्षेत्रको सुधारमा ठोस उपलब्धि देखाउन आग्रह गरेका थिए। गृहमन्त्रीको सचिवालयले पनि गुरुङले जिल्लाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

Related Post