सिद्धार्थ बैंकको नाफामा १६२ प्रतिशतको उछाल, तीन महिनामै कमायो ८५ करोड

सिद्धार्थ बैंकको नाफामा १६२ प्रतिशतको उछाल, तीन महिनामै कमायो ८५ करोड
65

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद नाफा उल्लेख्य रूपमा बढाएको छ। बैंकले असोज मसान्तसम्म ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ थियो। यससँग तुलना गर्दा बैंकको नाफा १६२.७५ प्रतिशतले बढेको हो।

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी २ अर्ब १६ करोड रुपैयाँबाट बढेर २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि बढेर ५७ करोड ७ लाख रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य बढेको छ। गत वर्ष १ अर्ब ६१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ५७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा कायम भएको छ। त्यस्तै, बैंकको पुँजीकोष अनुपात १२.२९ प्रतिशत रहेको छ।

पहिलो त्रैमासमै नाफा र वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि गरेको सिद्धार्थ बैंकको वित्तीय सूचकमा सुधार देखिएको छ।

Related Post