काठमाडौं । इरानसँग जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि दबाब बढ्दै गएको देखिएको छ। युद्ध सुरु गर्दा अघि सारिएका कडा लक्ष्यहरूबाट प्रशासन क्रमशः पछि हट्दै गएको संकेत पछिल्ला अभिव्यक्तिहरूले दिएका छन्।
युद्धको सुरुवातमा ट्रम्प प्रशासनले इरानको पूर्ण आत्मसमर्पण, शासन परिवर्तन, आणविक हतियार निर्माणमा पूर्ण रोक तथा मध्यपूर्वमा सक्रिय इरान समर्थित प्रोक्सी समूहलाई सहयोग बन्द गराउनेजस्ता महत्वाकांक्षी लक्ष्य अघि सारेको थियो।
तर युद्ध छ महिना पुग्दा ती लक्ष्यहरू सीमित हुँदै गएको देखिएको छ। पछिल्लो समय अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्यका लागि दुई मुख्य उद्देश्य मात्र अघि सारेका छन्—खाडी क्षेत्रबाट विश्व बजारमा तेल तथा ग्यासको आपूर्ति निरन्तर राख्नु र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु।
फक्स न्युजसँगको कुराकानीमा भान्सले ऊर्जा आपूर्ति र मूल्य स्थिरतालाई पहिलो प्राथमिकतामा राख्दै अमेरिकी नागरिकका लागि तेल तथा ग्यास सस्तो राख्नु आवश्यक रहेको बताएका थिए। दोस्रो प्राथमिकता भने इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो।
भान्सको यो अभिव्यक्ति युद्ध सुरु गर्दा प्रस्तुत गरिएको लक्ष्यको सूचीभन्दा निकै फरक देखिएको छ। विशेषगरी तेल तथा ग्यासको मूल्यलाई पहिलो प्राथमिकतामा राखिनुले ट्रम्प प्रशासन युद्ध अन्त्यका लागि प्रारम्भिक लक्ष्यभन्दा कम उपलब्धिमै सम्झौता गर्न तयार भइरहेको संकेत गरेको विश्लेषण गरिएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भने ऊर्जा आपूर्ति र आणविक हतियार रोक्ने दुवै विषय राष्ट्रपति ट्रम्पका लागि समान रूपमा महत्वपूर्ण रहेको बताएकी छन्।
यसअघि ट्रम्प प्रशासनले इरानका आणविक कार्यक्रमसँगै क्षेप्यास्त्र पूर्वाधार, वायुसेना तथा नौसेना र इरान समर्थित प्रोक्सी समूहको गतिविधिलाई समेत युद्धका सम्भावित लक्ष्यका रूपमा प्रस्तुत गर्दै आएको थियो। तर कुन अधिकारीले बोलिरहेको छ भन्ने आधारमा लक्ष्यको सूचीसमेत फरक–फरक देखिन्थ्यो।
पछिल्लो समय ट्रम्पका अभिव्यक्तिले इरानको आणविक कार्यक्रमसम्बन्धी मागसमेत केही खुकुलो हुन सक्ने संकेत गरेका छन्। यसअघि अमेरिकाले इरानले समृद्ध युरेनियम बाहिर पठाउनुपर्नेमा जोड दिँदै आएको थियो। तर ट्रम्पले इरानको आणविक संरचनामा पर्याप्त क्षति पुगेको हुन सक्ने र आणविक सामग्री जमिनमुनि अत्यन्त गहिरो स्थानमा लुकाइएको हुन सक्ने बताएका छन्।
ट्रम्पले आवश्यक परे अन्तरिक्षबाट निगरानी गरेर इरानले ती सामग्री बाहिर निकाल्ने प्रयास गरे–नगरेको हेर्न सकिने संकेतसमेत दिएका छन्। उनले इरान अहिले नै आणविक हतियारबाट मुक्त भइसकेको दाबीसमेत गरेका छन्।
यस्ता अभिव्यक्तिले ट्रम्प प्रशासनले युद्ध अन्त्यका लागि सुरुवाती कठोर शर्तहरूलाई क्रमशः व्यवहारिक र सीमित बनाउँदै लगेको संकेत गरेको छ।
यदि युद्धको अन्त्यपछि मुख्य उपलब्धिका रूपमा इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु र तेल–ग्यासको आपूर्ति सामान्य अवस्थामा फर्काउनु मात्र बाँकी रह्यो भने, छ महिनासम्म चलेको युद्धले हासिल गरेको उपलब्धि सुरुवाती दाबीको तुलनामा कति सीमित रह्यो भन्ने प्रश्नसमेत उठ्नेछ।