काठमाडौँ । काठमाडौंको जडीबुटीस्थित तरकारी बजार क्षेत्रअन्तर्गत नदी करिडोर सडकमा लामो दूरीमा सञ्चालन हुने रात्री बसहरू जथाभावी पार्किङ गरिँदा सडक आवागमन प्रभावित भएको छ।
सडकको किनारमै लामो समयसम्म बसहरू पार्किङ गरिँदा सडक साँघुरो हुने र साना सवारीसाधनलाई आवतजावत गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन्। विशेषगरी रात्री बसहरू पार्किङ गरिएका कारण करिडोर सडकको प्रयोगमा कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार सडकमा बसहरू एकपछि अर्को गरी पार्किङ गर्दा सवारीसाधनलाई सहज रूपमा पास हुन समस्या हुने गरेको छ। यसले दैनिक आवतजावत गर्ने मोटरसाइकल, कार तथा अन्य साना सवारीसाधनका चालकलाई समेत असहजता हुने गरेको छ।
लामो दूरीका बसका लागि व्यवस्थित पार्किङस्थलको व्यवस्था नहुँदा सडक तथा सार्वजनिक स्थानमै बस पार्किङ गर्ने प्रवृत्ति बढेको स्थानीयको भनाइ छ। यसले सडकको क्षमता घटाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाउन सक्ने भन्दै सम्बन्धित निकायले तत्काल व्यवस्थापन गर्नुपर्ने उनीहरूले माग गरेका छन्।
स्थानीयले नदी करिडोर सडकलाई नियमित आवागमनका लागि सहज बनाउन जथाभावी पार्किङ हटाउन र लामो दूरीका बसका लागि छुट्टै व्यवस्थित पार्किङस्थलको व्यवस्था गर्न माग गरेका छन्।