काठमाडौँ । सुनसरीको धरान–१४ स्थित नरसिंह भगवान् मन्दिरको स्वामित्वमा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्रीसमेत गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार नक्कली जग्गाधनी खडा गरी मन्दिरको जग्गा पुजारी टिर्रु चौधरीको नाममा नामसारी गरिएको थियो। उक्त जग्गाको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ रहेको छ।
मुद्दा दायर गरिएकामा तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, तत्कालीन सिङ्गिया गाविस अध्यक्ष/सचिव कपिलमणि दाहाल, तत्कालीन मालपोत अधिकृत सुशील वैध, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, मन्दिरका पुजारी टिर्रु चौधरी र स्थानीय जग्गा कारोबारी पंकज घिमिरे छन्।
अख्तियारले अनुसन्धानका क्रममा झुट्टा विवरणसहितको सर्जमिन मुचुल्का तयार गरी मन्दिरको जग्गा पुजारी चौधरीको नाममा नामसारी गर्न सिफारिस गरिएको फेला पारेको जनाएको छ। सोही सिफारिसका आधारमा मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।
दर्तापछि पुजारी चौधरी र बिचौलिया पंकज घिमिरेको मिलेमतोमा जग्गा बिक्रीसमेत गरिएको अख्तियारको दाबी छ। तत्कालीन गाविस सचिव कपिलमणि दाहालले जग्गा नामसारीमा सहयोग गरेबापत ५ हजार रुपैयाँ घुस लिएको पनि अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
हाल भागमैनी थरुनीको नाममा रहेको उक्त जग्गा जफत गरी पुनः नरसिंह भगवान् मन्दिरकै नाममा कायम गर्न अख्तियारले विशेष अदालतसमक्ष मागदाबी गरेको छ।