कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन हुँदै, आज महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने दिन

25 October, 2026 61 Views
कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन हुँदै, आज महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने दिन
61

 

काठमाडौँ । नेपालीको प्रमुख पर्व बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको १५ दिने दुर्गा पक्ष आज साँझ धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजाआराधना तथा रातभर जाग्राम बसेपछि समाप्त हुने परम्परा छ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलन छ। धार्मिक मान्यताअनुसार यस रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मीले जाग्राम बसेका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने विश्वास गरिन्छ।

दुर्गा पक्षका अवसरमा दशैँघरमा स्थापना गरिएका जमरा तथा फूलपातीका अवशेष आज नजिकैको नदी, तलाउ वा पोखरीमा लगेर विसर्जन गरिन्छ। यस दिन माता दुर्गाका तीन प्रमुख स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको विशेष पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गर्ने धार्मिक परम्परा छ।

नवरात्रको समापन विजयादशमीका दिन हुने भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने गर्दछ। लक्ष्मीपूजाको करिब १५ दिनअघि नै महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमालाई धार्मिक दृष्टिले विशेष महत्त्वका साथ लिइन्छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझसम्म देवीको प्रसादस्वरूप दशैँको टीका र जमरा लगाउन सकिने धार्मिक मान्यता छ।

कोजाग्रत पूर्णिमासँगै दशैँको औपचारिक बिदाइ हुने भए पनि भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुन्छ। यससँगै नेपाली समाजमा दशैँको उल्लासबाट तिहारको तयारीतर्फ चहलपहल बढ्न थाल्छ।

Related Post