काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत दबाउन नसकेको भन्दै अहिलेका अरूले पनि केही गर्न नसक्ने दाबी गरेका छन्।
बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेसको संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध पटक–पटक मुद्दा चलाउने प्रयास भए पनि अदालतले पक्राउ नगर्न आदेश दिएको बताए।
देउवाले आफू र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न खोजिएको भन्दै अदालतले त्यसलाई रोकेको दाबी गरे। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउने प्रयाससमेत पटक–पटक भएको उनले बताए।
देशमा जनता र अदालत रहेकाले सबै कुरा जनताले बुझेको उनको भनाइ थियो। उनले तत्कालीन राजा ज्ञानेन्द्रले समेत आफूलाई दबाउन नसकेको भन्दै अहिलेका व्यक्तिले पनि आफूलाई कमजोर बनाउन नसक्ने दाबी गरे।
देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छन् र?’