काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता असोज १९ गते हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।
समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी सूचनामा तोकिएको समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा विधानअनुसार उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दाखिला गर्न सक्ने उल्लेख छ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा सुरु भएको हो । पार्टीको आधिकारिक कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने तय गरिएको छ ।
मनोनयन दर्ताको मिति तय भएसँगै सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका नेताहरूको प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गर्ने भएको छ ।
निर्वाचन समितिले केन्द्रीय निर्वाचन कार्यक्रमको विस्तृत तालिका भने पछि सार्वजनिक गर्ने जनाएको छ ।