काठमाडौँ । अछामका डा. डीबी सुनारले नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
अछाम क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित सुनारले दलित समूहतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित गराएकोमा अछाम क्षेत्र नम्बर १ का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै सुनारले पार्टीमा युवा सहभागिता, सशक्त प्रतिनिधित्व र जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
‘युवा सहभागिता, प्रतिनिधित्व र जिम्मेवारी’लाई मूल नाराका रूपमा अघि सारेका सुनारले नेपाली कांग्रेसलाई थप सुदृढ, समावेशी र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
पार्टी संगठनलाई थप विस्तार र मजबुत बनाउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई व्यवहारमा अझ सुदृढ बनाउन युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको उनको भनाइ छ।
दलित समुदायको सशक्त प्रतिनिधित्वसँगै पार्टी संगठनमा नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउने लक्ष्यसहित आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको सुनारले बताएका छन्।