काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. डम्बरबहादुर सुनार (डिबी सुनार) ले दलित क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यसमेत रहेका डा. सुनार अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। लामो समयदेखि विद्यार्थी राजनीतिमार्फत कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले पार्टीका विभिन्न जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।
चीनबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा विद्यावारिधि गरेका डा. सुनार नेपालको विदेश नीति, कूटनीति तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा विशेष दख्खल राख्छन्। पेशाले सिभिल इन्जिनियरसमेत रहेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी तथा सम्मेलनमा कांग्रेसको प्रतिनिधित्व गर्दै करिब ४० मुलुकको भ्रमण गरिसकेका छन्।
बदलिँदो विश्व परिवेशमा नेपालको विदेश नीति थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै डा. सुनारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भए आफूले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका क्षेत्रमा हासिल गरेको अध्ययन, अनुभव र ज्ञानलाई पार्टी तथा मुलुकको हितमा अधिकतम उपयोग गर्ने उनको प्रतिबद्धता छ।
डा. सुनारले लागूऔषध दुर्व्यसन नियन्त्रण र दुर्व्यसनमुक्त समाज निर्माणलाई पनि आफ्नो महत्वपूर्ण राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनी हाल नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेको दुर्व्यसनमुक्त समाजका लागि सचेतना उपसमितिका संयोजकका रूपमा कार्यरत छन्।
समाजमा लागूऔषध दुर्व्यसनको प्रभाव गम्भीर बन्दै गएको भन्दै उनले यस विषयलाई पार्टीले प्राथमिकताका साथ ग्रहण गरी नीति र कार्यक्रममार्फत प्रभावकारी हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आफूले उक्त मुद्दालाई पार्टीको प्राथमिकतामा स्थापित गर्न पहल गर्ने उनको भनाइ छ।
विकास, लोकतन्त्र र कांग्रेसलाई आगामी दशकको राजनीतिक दिशासँग जोड्दै ‘The Coming Decade: Development, Democracy and the Congress’ भन्ने मूल नारालाई अभियानको आधार बनाएको डा. सुनारले बताएका छन्।
विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो विज्ञता, संगठनात्मक अनुभव तथा सामाजिक मुद्दाप्रतिको प्रतिबद्धतालाई कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।