कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी

12 October, 2026 166 Views
कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी
166

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना पार्टी कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा भइरहेको छ।

सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदको मतगणनालाई तीव्रता दिएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना पाँच स्थानमा भइरहेको छ। प्रवासस्थित नेपाली जनसम्पर्क समितिका पदको मतगणनाका लागि नौ स्थानमा टोली परिचालन गरिएको छ।

त्यस्तै, आदिवासी जनजाति सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यको मतगणना तीन स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यको मतगणना चार स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यको मतगणना दुई स्थानमा भइरहेको छ।

उम्मेदवार र उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षा व्यवस्थासहित मतगणना भइरहेको समितिले जनाएको छ। समितिले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

यसपटक करिब सात हजार मतदाता रहेकाले मतगणनामा समय लागेको कटुवालले बताएका छन्। अघिल्लो महाधिवेशनमा करिब तीन हजार मतदाता हुँदा मतगणना सम्पन्न गर्न १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक भने त्यति लामो समय नलाग्ने बताएका छन्।

Related Post