गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

12 October, 2026 333 Views
गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
333

पोखरा । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पोखरास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पनि पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।

Related Post