थाई भिसा प्रक्रियाप्रति OTAN को आपत्ति, नेपाली यात्रुको आर्थिक सुरक्षाको माग

12 October, 2026 273 Views
थाई भिसा प्रक्रियाप्रति OTAN को आपत्ति, नेपाली यात्रुको आर्थिक सुरक्षाको माग
273

 

काठमाडौं । आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल (OTAN) ले काठमाडौंस्थित थाई दूतावासको भिसा प्रक्रियाप्रति आपत्ति जनाउँदै नेपाली यात्रुले पारदर्शी, सम्मानजनक र न्यायोचित व्यवहार पाउनुपर्ने माग गरेको छ।

नेपाली ट्राभल एजेन्सीहरूले लामो समयदेखि थाइल्याण्डको पर्यटन प्रवर्द्धनमा योगदान दिँदै आएको उल्लेख गर्दै OTAN ले भिसा प्रक्रियामा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो। अध्यक्ष माधव कँडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भिसा प्रक्रियामा पारदर्शिताको अभाव, आवेदन अस्वीकृत गर्दा स्पष्ट कारण नदिइनु र निर्णयमा ढिलाइ हुँदा नेपाली यात्रु तथा ट्राभल एजेन्सीले आर्थिक र मानसिक समस्या भोग्नुपरेको उल्लेख छ।

एसोसिएसनका अनुसार दूतावासले माग गरेका सम्पूर्ण कागजात पूरा गरी आवेदन दिँदासमेत भिसा अस्वीकृत हुने गरेको छ। पासपोर्टको तस्बिर अस्पष्ट हुनु वा नागरिकताको प्रतिलिपि स्पष्ट नहुनुजस्ता सामान्य त्रुटि सच्याउने अवसर नदिई आवेदन अस्वीकृत गरिनु उचित नभएको OTAN को भनाइ छ।

त्यस्तै, आवेदन दर्ता गराएको १५ देखि २० दिनपछि नयाँ नियम लागू गर्दै त्यसकै आधारमा पुराना आवेदन अस्वीकृत गरिनुले आवेदकलाई अन्योलमा पारेको एसोसिएसनले जनाएको छ। नियम परिवर्तन हुँदा पहिले नै आवेदन दिएका यात्रुका हकमा स्पष्ट व्यवस्था हुनुपर्ने मागसमेत गरिएको छ।

भिसा प्रक्रियाका कारण यात्रुहरूले आर्थिक जोखिमसमेत बेहोर्नुपरेको OTAN ले उल्लेख गरेको छ। भिसा स्वीकृत हुने निश्चितता नहुँदा पनि कन्फर्म हवाई टिकट र होटल बुकिङ आवश्यक पर्ने व्यवस्थाले यात्रुलाई ठूलो रकम अग्रिम भुक्तानी गर्न बाध्य बनाएको विज्ञप्तिमा जनाइएको छ। भिसा अस्वीकृत हुँदा वा निर्णयमा ढिलाइ भएर यात्रा मिति गुज्रिँदा फिर्ता नहुने टिकट तथा होटल बुकिङमा खर्च भएको रकम गुम्ने जोखिम बढेको एसोसिएसनको भनाइ छ।

Booking.com र Agoda जस्ता अनलाइन प्लेटफर्मबाट गरिएको होटल बुकिङलाई समेत पर्याप्त मान्यता नदिई होटलबाट छुट्टै पत्र मागिने गरेको विषयमा पनि OTAN ले प्रश्न उठाएको छ। यस्तो व्यवस्थाले भिसा आवेदन प्रक्रिया थप जटिल र खर्चिलो बनेको एसोसिएसनको ठहर छ।

दशैं, तिहारजस्ता चाडपर्वका बेला परिवारसँग थाइल्याण्ड भ्रमण गर्ने योजना बनाएका यात्रुहरू पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ। एउटै परिवारका केही सदस्यको भिसा स्वीकृत हुने र केहीको अस्वीकृत हुने अवस्थाले परिवारको सम्पूर्ण यात्रा योजना प्रभावित हुने गरेको OTAN ले जनाएको छ।

समस्या समाधानका लागि दूतावाससँग सम्पर्क गर्दा फोन नउठ्ने वा स्पष्ट जवाफ नपाइने गरेको गुनासोसमेत एसोसिएसनले गरेको छ। भिसा प्रक्रियामा देखिएका समस्या, अग्रिम बुकिङको अनिवार्यता तथा आवेदन अस्वीकृत वा निर्णयमा ढिलाइ हुँदा हुने आर्थिक क्षतिका विषयमा निष्पक्ष छानबिन गर्न पनि OTAN ले माग गरेको छ। यात्रुले रकम गुमाइरहँदा सम्बन्धित सेवा प्रदायकले भुक्तानी पाइरहने अवस्थाले सम्भावित अनुचित मिलेमतोबारे आशंका उत्पन्न गरेको भन्दै एसोसिएसनले यस विषयमा छानबिन गर्न आग्रह गरेको हो।

OTAN का माग

भिसा प्रक्रियालाई पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउन OTAN ले विभिन्न माग अघि सारेको छ। 

पुराना आवेदनको पुनर्विचार: नयाँ नियम लागू हुनुअघि दर्ता भएका सबै आवेदनलाई तत्कालीन मापदण्डअनुसार पुनर्विचार गर्नुपर्ने।

पारदर्शिता र पूर्वसूचना: भिसासम्बन्धी मापदण्ड स्पष्ट रूपमा लिखित र सार्वजनिक गर्दै नयाँ नियम लागू गर्नुअघि कम्तीमा ३० दिनको पूर्वसूचना दिनुपर्ने।

लिखित कारण र सुधारको अवसर: भिसा अस्वीकृत गर्दा स्पष्ट लिखित कारण दिनुका साथै सामान्य कागजी त्रुटि सच्याउने अवसर उपलब्ध गराउनुपर्ने।

अस्थायी बुकिङलाई मान्यता: भिसा स्वीकृत हुनुअघि अस्थायी हवाई टिकट तथा होटल बुकिङलाई मान्यता दिनुपर्ने।

निश्चित समयसीमा: भिसा निर्णयका लागि निश्चित समयसीमा तोक्नुपर्ने, ताकि यात्रुहरूले यात्रा मितिअघि नै निर्णय प्राप्त गर्न सकून्।

प्रभावकारी सम्पर्क संयन्त्र: यात्रु तथा ट्राभल एजेन्सीका गुनासा सम्बोधन गर्न प्रभावकारी सम्पर्क संयन्त्र तत्काल स्थापना गर्नुपर्ने।

कूटनीतिक पहल: नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाई सरकारसँग तत्काल कूटनीतिक पहल गरी नेपाली यात्रुको हकहित र आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्ने।

यात्रुलाई आर्थिक सावधानी अपनाउन आग्रह

OTAN ले थाइल्याण्ड भ्रमणको तयारी गरिरहेका नेपाली यात्रुलाई भिसा प्रक्रियामा हुन सक्ने ढिलाइ तथा अस्वीकृतिबाट उत्पन्न आर्थिक जोखिमबारे सचेत रहन आग्रह गरेको छ।

एसोसिएसनले यात्रुहरूलाई फिर्ता लिन मिल्ने वा मिति परिवर्तन गर्न सकिने हवाई टिकट तथा होटल बुकिङलाई प्राथमिकता दिन, भिसा स्वीकृत नहुँदासम्म फिर्ता नहुने भुक्तानी नगर्न र आवेदन दिनुअघि नवीनतम मापदण्ड जाँच गर्न सुझाव दिएको छ। साथै, यात्रा मितिभन्दा पर्याप्त समयअघि आवेदन दिन र आधिकारिक ट्राभल एजेन्सीको परामर्श लिनसमेत आग्रह गरिएको छ।

OTAN ले नेपाली ट्राभल एजेन्सीहरूले थाइल्याण्डको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको सम्मान गर्दै नेपाली यात्रुलाई पनि निष्पक्ष, पारदर्शी र न्यायोचित व्यवहार सुनिश्चित गरिनुपर्नेमा जोड दिएको छ। एसोसिएसनले भिसा प्रक्रियामा सुधार, प्रभावकारी गुनासो सुनुवाइ र यात्रुको आर्थिक सुरक्षाका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

 

Related Post