काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मतका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म यातायात आवागमन बन्द गरिने भएको छ।
त्रिशूली नदीको कटानका कारण गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक भासिएपछि मर्मतसम्भार गर्न राजमार्ग बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिएकी छन्।
गत असोज २३ गते सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा ल्याइएको थियो। सडकमा थप मर्मत गर्नुपर्ने भएकाले पुनः आवागमन बन्द गर्न लागिएको हो।
दसैँको समयमा राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुण्यप्रसाद (सरोजण) सिटौलाले बताएका छन्।
असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ यात्रु दसैँ मनाउन काठमाडौं बाहिरिएका छन्।