काठमाडौं । बडादसैंलाई लक्षित गर्दै यती एयरलाइन्सले जाने उडानमा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ। दसैंका बेला घर जाने यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दसैंमा जाने उडानमा यात्रुको चाप उच्च हुने भए पनि फर्कने उडानमा यात्रु कम हुने र इन्धन खर्चसमेत बढी लाग्ने अवस्था छ। यही परिस्थितिलाई ध्यानमा राखेर जाने उडानमा अपर क्लासको भाडा बन्द गरिएको हो।
यती एयरलाइन्सले फर्कने उडानमा भने न्यून दरमै टिकट उपलब्ध गराइरहेको जनाएको छ।
कम्पनीका अनुसार विश्वका विभिन्न क्षेत्रमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ। गत समयमा प्रतिलिटर १२७ रुपैयाँ रहेको इन्धनको मूल्य बढेर २४९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य भएको पनि कम्पनीको भनाइ छ।
इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण गत वर्षजस्तै सस्तो दरमा हवाई टिकट उपलब्ध गराउन नसकिएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ।