कांग्रेस महाधिवेशनको सबै मतगणना सकियो, एक सातामै आयो परिणाम

16 October, 2026 350 Views
कांग्रेस महाधिवेशनको सबै मतगणना सकियो, एक सातामै आयो परिणाम
350

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यको मतगणना यसअघि नै सम्पन्न भएको थियो। सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यतर्फ खसआर्य र थारू समूहको मतगणना पनि बिहीबार राति नै सकिएको उनले जानकारी दिए।

सबै पदको मतपरिणाम रुजु गर्ने काम पूरा भएपछि औपचारिक नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो। अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो।

असोज २३ गते मतदानपछि सोही राति सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापतिको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो।

निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। मतगणनाका लागि दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो।

यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।

कटुवालले अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी गतिमा सम्पन्न भएको दाबी गरे। उनका अनुसार निर्वाचनका क्रममा कुनै विवाद नभई सौहार्दपूर्ण वातावरणमा मतदान तथा मतगणना सम्पन्न भएको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ। त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्नेछ। उक्त बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्।

Related Post