कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको अवसर बन्नुपर्छ : पुष्पा भुसाल

04 October, 2026 68 Views
कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको अवसर बन्नुपर्छ : पुष्पा भुसाल
68

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी आत्मसमीक्षा, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको अवसर बनाउनुपर्ने बताएकी छन् ।

काठमाडौंको खुलामञ्चमा आइतबार आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतामाझ गुम्दै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिइन् ।

२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको कांग्रेसले वर्तमान राजनीतिक चुनौतीको समीक्षा गर्दै भविष्यको स्पष्ट मार्गचित्र तय गर्नुपर्ने उनको भनाइ थियो ।

‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । नेपाली कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन,’ उनले भनिन् ।

भुसालले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप समावेशी र संस्थागत बनाउन तथा केन्द्रीय तहका निर्णयलाई पारदर्शी बनाउँदै तल्लो तहसम्म पुर्‍याउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिन् ।

नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न नसके कांग्रेसले जनताको विश्वास कायम राख्न नसक्ने उनको भनाइ थियो । मुलुकको जनसंख्यामा ४१ प्रतिशत हिस्सा ओगट्ने जेन–जी पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज खोजिरहेको उल्लेख गर्दै उनले त्यसअनुसार पार्टीले आफ्नो नीति र कार्यशैली बदल्नुपर्ने बताइन् ।

‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामात्र होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा यस महाधिवेशनलाई लिनुपर्दछ,’ उनले भनिन्, ‘यो महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ । हामीले यो अवसर गुमाउनु हुँदैन ।’

महाधिवेशनपछि जनताको विश्वास थप मजबुत बनाउने प्रतिबद्धतासहित गाउँगाउँमा फर्किन सक्ने अवस्था छ कि छैन भन्ने प्रश्नको जवाफ पनि कांग्रेसले खोज्नुपर्ने उनले बताइन् ।

महिलाको राजनीतिक सहभागिताबारे बोल्दै भुसालले मुलुकको जनसंख्यामा ५१ प्रतिशत हिस्सा ओगट्ने महिलाले आन्दोलन, निर्वाचन र सामाजिक नेतृत्वमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गरिन् । अब पार्टी र राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने उनको माग थियो ।

Related Post