कांग्रेसलाई एकताबद्ध र जनमुखी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता

12 October, 2026 152 Views
कांग्रेसलाई एकताबद्ध र जनमुखी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता
152

 

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउँदै जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका हुन्।

उनले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण पुँजीका रूपमा उल्लेख गर्दै आगामी दिनमा सबैको सल्लाह, सुझाव र सहयोगलाई आत्मसात् गरेर पार्टी निर्माणमा सक्रिय रहने बताएका छन्।

महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै पौडेलले अब विगतका तिक्तता भुलेर पार्टीभित्र भावनात्मक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। महाधिवेशनको मतपरिणामले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न सन्देश दिएको उनको भनाइ छ।

पौडेलले कांग्रेसको ऐतिहासिक योगदानलाई कायम राख्दै वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने बताएका छन्। त्यसका लागि नागरिकका दैनिक समस्या, जनजीविका र लोकतान्त्रिक मूल्यको संरक्षणलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।

कांग्रेसलाई आम नागरिकको सुखदुःखमा साथ दिने, जनमुखी र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उनले समय र नागरिकको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

महामन्त्री पौडेलले १५औँ महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सबै नेता, कार्यकर्ता तथा सहयोगीप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।

Related Post