२० करोडको ठगी प्रकरणमा नोरा फतेहीलाई अदालतको समन, नोभेम्बर २ मा बयान दिँदै

२० करोडको ठगी प्रकरणमा नोरा फतेहीलाई अदालतको समन, नोभेम्बर २ मा बयान दिँदै
64

काठमाडौं । बलिउडको चमकधमक, करोडौँका उपहार र जेलभित्रबाट सञ्चालित ठगीको जालो! चर्चित अभिनेत्री नोरा फतेही अब यही २० करोड भारतीय रुपैयाँको ठगी प्रकरणमा अदालतमा बयान दिनुपर्ने अवस्थामा पुगेकी छन्।

सुकेश चन्द्रशेखरसँग जोडिएको ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीको अदालतले नोरालाई समन जारी गर्दै आगामी नोभेम्बर २ मा उपस्थित हुन आदेश दिएको हो। अदालतले उनलाई सरकारी साक्षीका रूपमा बयानका लागि बोलाएको छ।

प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको तेस्रो पूरक आरोपपत्रका आधारमा अदालतले यस्तो आदेश दिएको हो। यो मुद्दा जेलभित्रै बसेर सुकेशले रेनबैक्सीका पूर्वप्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहसँग करिब २० करोड रुपैयाँ ठगी गरेको घटनासँग सम्बन्धित छ।

अनुसन्धानका अनुसार सुकेशले आफूलाई भारत सरकारको उच्चपदस्थ अधिकारी बताउँदै शिविन्दरलाई जेलबाट छुटाइदिने आश्वासन दिएका थिए। यही बहानामा उनले अदितिसँग ठूलो रकम असुलेको आरोप छ।

ठगीबाट प्राप्त रकमबाट नोरा फतेहीलाई विलासी कार, महँगा ब्याग र गरगहनालगायतका उपहार दिइएको ईडीको दाबी छ। यसअघि ईडीसँगको बयानमा नोराले एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको कार उपहार पाएको स्वीकार गरेकी थिइन्। सन् २०२० मा चेन्नईमा आयोजित एक कार्यक्रममा आफूलाई उक्त कार दिइएको उनको भनाइ थियो।

यद्यपि, नोराले आफू कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको र यस प्रकरणमा आफैँ पीडित भएको दाबी गर्दै आएकी छन्।

यसै प्रकरणमा अर्की बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको नाम पनि जोडिएको छ। सुकेशले ठगीको रकमबाट ज्याकलिनमाथि सात करोड भारतीय रुपैयाँभन्दा बढी खर्च गरेको र महँगा ब्याग, हिराका गरगहना, घोडा तथा बिरालोलगायतका उपहार दिएको आरोप छ।

अनुसन्धानअनुसार सुकेशले सन् २०२०/२१ मा दिल्लीको रोहिणी जेलभित्रै बसेर सरकारी अधिकारीको भेषमा ठगी र असुलीको सञ्जाल सञ्चालन गरेका थिए।

अब नोभेम्बर २ मा अदालतमा नोरा फतेहीले दिने बयानले यो चर्चित ठगी प्रकरणका थप पाटा उजागर गर्छ वा गर्दैन भन्ने चासो बढेको छ।

Related Post