काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको आगामी निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्ने आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्। तर, उनले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे खुलाएकी छैनन्।
आफ्नो ज्ञान, सीप र अनुभवलाई काठमाडौंको विकास, सुशासन तथा रूपान्तरणमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको उनले बताएकी छन्।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्रीसमेत हुन्। शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसयता उनी सक्रिय दलीय राजनीतिबाट टाढा रहँदै आएकी थिइन्।
उनको घोषणासँगै काठमाडौं महानगरको आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धाबारे चासो बढेको छ।