काठमाडौँ । नेपालमा पहिलोपटक साइबर सुरक्षा सम्मेलन ‘बिसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ। नोभेम्बरमा बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा हुने सम्मेलनमा ३०० भन्दा बढी साइबर सुरक्षा विज्ञ, इथिकल ह्याकर, अनुसन्धानकर्ता तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा साइबर सुरक्षासम्बन्धी प्राविधिक प्रस्तुति, प्रयोगात्मक सिकाइ, ह्याकिङ प्रतिस्पर्धा, ओपन सोर्स परियोजनाको प्रदर्शनी तथा विज्ञहरूसँग अन्तरक्रिया हुनेछ।
सम्मेलनका लागि विद्यार्थी, जनरल र कर्पोरेट प्लस आफ्टर पार्टी गरी तीन प्रकारका टिकट व्यवस्था गरिएको छ। नोभेम्बर ४ सम्म उपलब्ध अर्ली बर्ड टिकटको मूल्य विद्यार्थीका लागि १ हजार ९००, जनरलका लागि २ हजार ४०० र कर्पोरेट प्लसका लागि ५ हजार रुपैयाँ तोकिएको छ।
सन् २००९ मा अमेरिकाको लस भेगासबाट सुरु भएको बिसाइड्स सम्मेलन पहिलोपटक काठमाडौँमा आयोजना हुन लागेको हो।