काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त जिम्मेवारीबाट फिर्ता बोलाएको छ।
राखेपले असोज १८ गते गुन्जनलाई क्यानको सदस्यमा मनोनीत गरेको थियो। तर, असोज २८ गते सदस्यसचिवस्तरीय निर्णय गर्दै उनलाई उक्त पदबाट फिर्ता गरिएको हो।
राखेपको संघसंस्था समन्वय शाखाले नेपाल क्रिकेट संघलाई पठाएको पत्रमा क्यानको विधानको परिच्छेद २, धारा ३ को उपधारा (४) अनुसार गुन्जनलाई सदस्य पदबाट फिर्ता गरिएको उल्लेख छ। पत्रमा उनलाई फिर्ता बोलाउनुको स्पष्ट कारण भने खुलाइएको छैन।
नयाँ सरकार गठन भएपछि राखेपले यसअघि छुम्बी लामालाई पनि क्यानको सदस्य पदबाट फिर्ता बोलाएको थियो। उनको स्थानमा गुन्जनलाई मनोनीत गरिएको थियो। तर, नियुक्तिको दुई हप्ता नपुग्दै गुन्जनसमेत पदबाट फिर्ता भएकी छन्।
गुन्जन यसअघि निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वकीय सचिवका रूपमा कार्यरत थिइन्।
राखेपले गुन्जनसँगै अन्य चार खेल संघका सदस्यलाई पनि फिर्ता बोलाएको छ। ब्याडमिन्टन संघका सम्भु कार्की, सुटिङ संघका कृष्णहरी सैजु, पौडी संघका विनोद श्रेष्ठ र साइक्लिङ संघका गणेश मैनालीलाई पनि सम्बन्धित पदबाट फिर्ता गरिएको हो।
राखेपको पछिल्लो निर्णयसँगै विभिन्न खेल संघमा गरिएको मनोनयन र फिर्ता बोलाउने प्रक्रियाबारे चासो बढेको छ।