दसैंमा घर फर्किने यात्रु ठगिँदै, सुदूरपश्चिमका पहाडी रुटमा दोब्बरसम्म भाडा

15 October, 2026 80 Views
दसैंमा घर फर्किने यात्रु ठगिँदै, सुदूरपश्चिमका पहाडी रुटमा दोब्बरसम्म भाडा
80

 

काठमाडौं । दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै सुदूरपश्चिमका पहाडी रुटमा मनपरी भाडा असुली र क्षमताभन्दा बढी यात्रु बोक्ने समस्या देखिएको छ । ठूला बसको पर्याप्त व्यवस्था नहुँदा साना जिप तथा हाइसमा निर्भर यात्रु चर्को भाडा तिर्न बाध्य भएका छन् ।

विशेषगरी डोटीको बुडरबाट बझाङ, बैतडी र दार्चुलातर्फ जाने यात्रुले सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म बढी भाडा मागिएको गुनासो गरेका छन् । कच्ची सडक र सीमित सवारीसाधनका कारण यात्रुहरूले व्यवसायीले मागेको भाडा तिर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

बुडरबाट बझाङको बुंगल जान लागेका जयबहादुर धामीले सामान्य अवस्थामा एक हजार रुपैयाँ लाग्ने यात्राका लागि अहिले एक हजार ७५० रुपैयाँ तिर्नुपरेको बताए । उनका अनुसार साविकको भाडाभन्दा ७५० रुपैयाँ बढी मागिएको छ ।

त्यस्तै, बझाङको बित्थडचिर जान लागेकी कलावती बोहराले सामान्य अवस्थामा ८०० रुपैयाँ लाग्ने भाडा अहिले एक हजार ५०० रुपैयाँ पुगेको बताइन् ।

बैतडीको पाटन जाने सीता महरासँग सामान्य अवस्थामा ६०० रुपैयाँ लाग्ने यात्राका लागि ९०० रुपैयाँ मागिएको छ । त्यस्तै, बैतडीकै मेलौली जान लागेका हीरा भुलसँग ८०० रुपैयाँको सट्टा एक हजार ४०० रुपैयाँ भाडा मागिएको छ ।

चाडपर्वका बेला घर पुग्नैपर्ने बाध्यतामा रहेका यात्रुहरू महँगो भाडाको मारमा परेका छन् । भाडा वृद्धिसँगै सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिले यात्राको सुरक्षा र सुविधामाथि समेत प्रश्न उठाएको छ ।

यात्रुहरूले चाडपर्वको मौका छोपेर हुने मनपरी भाडा असुली नियन्त्रण गर्न र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि निगरानी बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

Related Post