सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा मंगलबार बिहान खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले सडकको एक भाग नै भासिएपछि चीनसँग जोडिएको प्रमुख व्यापारिक मार्गमा सवारी आवागमन ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार बिहान करिब ९:३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। घटनापछि उक्त सडकखण्ड भएर कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेको छैन।
प्रहरीका अनुसार पहिरोले सडक संरचनामा क्षति पुर्याएको छ। सडक भासिएको र माथिबाट तत्काल उत्खनन गर्न सम्भव नभएकाले पर्खाल (वाल) निर्माण गरेर सडकलाई स्थायी रूपमा सुरक्षित नबनाएसम्म यातायात सञ्चालन गर्न कठिन हुने अवस्था रहेको छ।
सडक अवरुद्ध भएसँगै नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका प्रभावित भएको छ। सम्बन्धित निकायले सडक पुनः सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको भए पनि तत्काल यातायात सुचारु हुने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।