महामन्त्रीमा प्रदीप पौडेलको प्रतिबद्धता : प्राइमरी इलेक्सनदेखि ५ लाख रोजगारीसम्म

07 October, 2026 66 Views
महामन्त्रीमा प्रदीप पौडेलको प्रतिबद्धता : प्राइमरी इलेक्सनदेखि ५ लाख रोजगारीसम्म
66

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टी रूपान्तरणदेखि रोजगारी र आर्थिक विकाससम्मका एजेन्डा समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

‘बहसदेखि नीतिसम्म, नीतिदेखि परिणामसम्म’ भन्ने अवधारणासहित उनले कांग्रेसलाई थप लोकतान्त्रिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने योजना अघि सारेका हुन् ।

पौडेलले पार्टीभित्र उम्मेदवार छनोटका लागि ‘प्राइमरी इलेक्सन’ लागू गर्ने, मन्त्री तथा जनप्रतिनिधिको नियमित कार्यसम्पादन समीक्षा गर्ने र काम प्रभावकारी नभए फिर्ता बोलाउन सकिने व्यवस्था गर्न पहल गर्ने बताएका छन् ।

उनले देशमै वार्षिक करिब ५ लाख रोजगारी सिर्जना गर्ने नीति ल्याउने तथा युवा उद्यमीलाई सहयोग गर्न स्टार्टअप फन्ड स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । एआई, डिजिटल तथा फ्रिल्यान्सिङ अर्थतन्त्र विस्तार गर्दै नेपाली युवालाई विश्व बजारसँग जोड्ने उनको योजना छ ।

त्यस्तै, भ्रष्टाचारमा शून्य सहनशीलता, सरकारी सेवा क्यासलेस–फेसलेस–पेपरलेस बनाउने, विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदानको व्यवस्था गर्न पहल गर्ने तथा डायस्पोरा बन्ड ल्याउने प्रस्ताव पनि पौडेलले अघि सारेका छन् ।

सामाजिक न्यायतर्फ दलित तथा विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षासम्म छात्रवृत्ति, महिला उद्यमीलाई बिनाधितो ऋण र स्वास्थ्य बिमा सुधारलगायतका विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।

पौडेलले यी योजनामार्फत कांग्रेसलाई सांगठनिक रूपमा बलियो बनाउँदै नीति निर्माणलाई प्रत्यक्ष परिणामसँग जोड्ने लक्ष्य अघि सारेका छन् ।

Related Post