नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन आजदेखि सुरु हुँदैछ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो।
अविरल वर्षाका कारण यसअघि स्थगित गरिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन आज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भोलि हुने संशोधित कार्यतालिका छ।
आज हुने प्रदेशसभा क्षेत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश प्रतिनिधि चयन गर्नेछ। मकवानपुरमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि २ हजार ४ सय ९६ क्षेत्रीय प्रतिनिधि मतदाता छन्।
यसपटक मकवानपुर कांग्रेसको क्षेत्रीय अधिवेशनमा पदाधिकारी चयनसँगै दुई समूहबीचको प्रतिस्पर्धा पनि रोचक बनेको छ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पक्ष तथा मकवानपुरका नेता आनन्द पराजुली र सचिव ईश्वर पाठक पक्षबीच विभिन्न पदमा प्रतिस्पर्धा हुँदैछ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा उत्सव इटेनी र सुशान्त श्रेष्ठ प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर २ मा रञ्जन कालाखेती र शंकर न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, चारवटै प्रदेशसभा क्षेत्रमा पनि दुवै पक्षले आ–आफ्ना उम्मेदवार अघि सारेका छन्। प्रदेशसभा क्षेत्र २ (ख) मा भने आनन्द–ईश्वर पक्षले उम्मेदवार टुंग्याउन बाँकी छ।
क्षेत्रीय अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी महाधिवेशनका लागि कांग्रेसको स्थानीय शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने भएकाले मकवानपुरको अधिवेशनलाई चासोका साथ हेरिएको छ।