प्रधानन्यायाधीश शर्मासँग आईजीपी कार्कीको भेट, छलफलको विषय गोप्य

प्रधानन्यायाधीश शर्मासँग आईजीपी कार्कीको भेट, छलफलको विषय गोप्य
49

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् । कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश शर्मासँग भेट गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार उनी करिब ४ बजे अदालत पुगेका थिए । त्यसपछि प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा करिब ४५ मिनेट भेटवार्ता भएको थियो ।

भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

यसअघि प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम रहेको भन्दै आइतबार राति निवासबाट नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लगेको थियो । सरकारले पनि जबरालाई सम्भावित सुरक्षा जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको जनाएको थियो ।

तर, जबरालाई करिब १० घण्टा नियन्त्रणमा राखिएको घटनाप्रति सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आपत्ति जनाएको थियो । फुलकोर्टले विज्ञप्ति जारी गर्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

सो विज्ञप्ति सार्वजनिक भएको केही समयपछि आईजीपी कार्की प्रधानन्यायाधीश शर्मालाई भेट्न सर्वोच्च अदालत पुगेका हुन् ।

Related Post