काठमाडौं । नेपाली कांग्रेस सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद भएपछि दुई पक्षबीच हात हालाहाल भएको छ । विवाद बढेपछि केहीबेर निर्वाचन प्रक्रिया समेत रोकिएको थियो ।
क्षेत्रीय सभापति पदका लागि मनोज साह र गफार अन्सारीले उम्मेदवारी दर्ता गरेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो । मतदानका क्रममा फर्जी मतपत्र भेटिएको भन्दै एक पक्षले आरोप लगाएपछि विवाद सुरु भएको हो ।
वर्तमान क्षेत्रीय सभापति एयुव अन्सारीले फर्जी मतपत्र भेटिएको विषयमा कुरा गर्ने क्रममा गफार अन्सारी समूहले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
यता, गफार अन्सारी पक्षले भने एयुव अन्सारीले मतपेटिकामा लात्ती हानेर निर्वाचन प्रक्रिया बिथोल्न खोजेको आरोप लगाएको छ ।
दुवै पक्षबीच विवाद र हातपात भएपछि केही समयका लागि मतदान प्रक्रिया रोकिएको थियो ।