काठमाडौं । हिमाली क्षेत्रका जलवायु संकट र त्यहाँका समुदायका सवाल अब अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा युवाको नेतृत्वमार्फत उठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गत बालबालिका तथा युवाहरूको आधिकारिक संयन्त्र मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथले हिमाली समुदाय तथा पारिस्थितिकीय प्रणालीसँग सम्बन्धित मुद्दामा काम गर्ने नयाँ युवा कार्यदल गठन गरेको छ ।
उक्त कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा ग्लोबल फोकल पोइन्टका रूपमा नेपाली युवा सोनिका पौडेल चयन भएकी छन् । हिमाली वातावरण संरक्षण, जलवायु नीति र पर्वतीय समुदायका सवाललाई अन्तर्राष्ट्रिय तहमा पुर्याउने जिम्मेवारी पौडेलले सम्हाल्नेछिन् ।
गत २५ सेप्टेम्बरमा आयोजित अन्तर्राष्ट्रिय भर्चुअल संवादमार्फत उनको नियुक्तिको घोषणा गरिएको थियो । त्यसपछि २८ सेप्टेम्बरमा बसेको सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय सचिवालय बैठकले नियुक्तिलाई अनुमोदन गरेको जनाइएको छ ।
‘क्रायोस्फियरमा जलवायु सङ्कट : हिमाली विपद्विरुद्ध वातावरणीय उत्थानशीलतामा पर्वतीय युवाहरूको नेतृत्व’ विषयक अन्तर्राष्ट्रिय संवादको समापनसँगै कार्यदलको औपचारिक घोषणा गरिएको हो । उक्त कार्यक्रम आगामी काठमाडौँ जलवायु कार्य सप्ताह २०२६ को पूर्वतयारी अन्तर्राष्ट्रिय सत्रका रूपमा समेत आयोजना गरिएको थियो ।
पौडेल वाईफिड फाउन्डेसनको सञ्चालक समिति सदस्यका रूपमा सक्रिय छन् । उनी अमेरिकाको भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट एन्ड स्टेट युनिभर्सिटी, ब्ल्याक्सबर्गमा कृषि तथा प्रसार शिक्षा विषयमा विद्यावारिधि तहमा अध्ययनरत छन् । उनको मनोनयनलाई सार्क युवा मञ्चले समर्थन गरेको बताइएको छ ।
कार्यदलको गठनसँगै हिमाली क्षेत्रका जलवायुजन्य जोखिम, हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटन, बाढीपहिरो तथा पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षणजस्ता विषयलाई संयुक्त राष्ट्रसङ्घसहितका अन्तर्राष्ट्रिय संयन्त्रमा युवा सहभागितासहित उठाउने बाटो खुलेको जनाइएको छ ।
यसै अवसरमा आगामी शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा कार्यदलको औपचारिक शुभारम्भसम्बन्धी साइड इभेन्ट आयोजना हुँदैछ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत तेस्रो समितिको बैठकको सन्दर्भमा आयोजना हुने कार्यक्रममा हिमाली क्षेत्रमा बढ्दो जलवायु संकट र विपद्को प्रभावबारे छलफल हुनेछ ।
कार्यक्रममा कार्यदलकी अन्तर्राष्ट्रिय संयोजक पौडेलले सम्बोधन गर्नेछिन् । हिमाली युवाको आवाजलाई अन्तर्राष्ट्रिय नीति निर्माणको तहसम्म पुर्याउने तथा जलवायु संकटबाट प्रभावित समुदायका सवालमा युवा नेतृत्व स्थापित गर्ने विषय कार्यक्रममा प्राथमिकतामा रहने बताइएको छ ।
कार्यदलले मुख्यतः तीन क्षेत्रमा काम गर्नेछ :
१. नीतिगत वकालत र प्रतिनिधित्व: संयुक्त राष्ट्रसङ्घीय जलवायु महासन्धिका पक्ष मुलुकहरूको सम्मेलन, जैविक विविधता महासन्धि र संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तर्राष्ट्रिय संयन्त्रहरूमा हिमाली युवाहरूको प्रत्यक्ष र सशक्त सहभागिता सुनिश्चित गर्ने ।
२. जलवायु न्याय र हिमाली विपद् जोखिम न्यूनीकरण: हिमताल विस्फोटनबाट आउने बाढी र आकस्मिक बाढीपहिरोबाट प्रभावित हिमाली तथा तल्लो तटीय समुदायहरूका लागि जलवायु न्याय र क्षतिपूर्तिको वकालत गर्ने।
३. प्राज्ञिक अनुसन्धान र स्थानीय ज्ञानको संयोजन: कृषि प्रसार शिक्षा, हिमाली कृषि तथा परम्परागत स्थानीय ज्ञानलाई नीति निर्माण तहमा जोड्दै युवाहरूलाई व्यावहारिक नेतृत्व प्रदान गर्ने ।