काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दैछन्। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग भेट गर्ने कार्यक्रम तय भएको छ।
भेटपछि बिहान ११ः५० बजे नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटी विस्तारका विषयमा छलफल हुने तयारी छ।
विशेषगरी भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन गर्ने र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण गर्ने विषय वार्ताका प्रमुख एजेन्डाका रूपमा रहेका छन्।
द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले विभिन्न परियोजनाको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। त्यसक्रममा नेपाल र भारतबीच विभिन्न समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछन्। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री मोदीले आजै प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भारतमा निर्धारित सबै भेटघाट तथा औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए। भ्रमणको पहिलो दिन उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। जयशंकरले नयाँदिल्लीस्थित होटल ताजमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।
आज हुने उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय छलफललाई नेपाल–भारत सम्बन्ध तथा दुई देशबीचका विकास परियोजनालाई अघि बढाउने सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।