नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, बिहान ९ देखि साँझ ६ बजेसम्म सञ्चालन

24 August, 2026 64 Views
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, बिहान ९ देखि साँझ ६ बजेसम्म सञ्चालन
64

काठमाडौं । करिब एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीका लागि पनि परीक्षणका रूपमा सञ्चालनमा आएको छ।

सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलाई सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवतजावत गर्न दिइएको हो। यससँगै एम्बुलेन्स, आपतकालीन र सरकारी नम्बर प्लेटका सवारीलाई पनि सुरुङ प्रयोग गर्न अनुमति दिइएको छ।

हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। परीक्षण अवधिमा निजी सवारीसँग कुनै शुल्क नलिइने नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटले जनाएको छ। परीक्षणबाट चालकको अनुभव र सुरुङ प्रयोगका क्रममा देखिएका समस्या अध्ययन गरेर अन्य सवारीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ।

सुरुङभित्र सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न पाइने छैन। हेडलाइट अनिवार्य बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न तथा ओभरटेक गर्न नपाइने नियम लागू गरिएको छ।

पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल–डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। यसको मुख्य सुरुङ २.६८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ।

नियमित सञ्चालनमा आएपछि कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। अन्य सवारीका लागि पनि सरकारले छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारणले निर्धारित समयभन्दा ढिला सम्पन्न भएको हो।