बेलकामा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

24 August, 2026 63 Views
बेलकामा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
63

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–५ जहडामा सोमबार बिहान स्कुल बस र अटो एकआपसमा ठोक्किँदा अटोमा सवार दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेमध्ये बेलका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब पौने १० बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस जहडामा ठोक्किएका हुन्।

बससँग ठोक्किएपछि अटोमा सवार पाँचै जना घाइते भएका थिए। घटनालगत्तै उनीहरूलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोपा अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा मन्दिरा मगर र पहिचान खुल्न नसकेकी अर्की महिलालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना के कारणले भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। बसमा विद्यार्थी तथा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ।

Related Post