नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा

27 July, 2026 187 Views
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा
187

काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ। केही दिन परीक्षण सञ्चालनपछि अन्य सवारीसाधनका लागि पनि सुरुङमार्ग खुला गरिनेछ। परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन।

सुरुङमार्गको कुल लम्बाइ २,६८८ मिटर रहेको छ। नियमित सञ्चालनपछि कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० शुल्क तिर्नुपर्नेछ। पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा पेट्रोलियम वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने प्रवेश निषेध गरिएको छ।

करिब २७ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम घट्नुका साथै यात्रुको झन्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ।

Related Post