नारायणीको कहर : १५ करोडको क्रुज बग्यो, पुलमै अड्किएपछि उद्धारमा तीन क्रेन

85

काठमाडौं । नारायणी नदीको रौद्ररूपले १५ करोड रुपैयाँ लगानीमा बनेको ‘राइनो क्रुज’लाई बगाएर पुलमै पुर्‍याएपछि अहिले तीन वटा शक्तिशाली क्रेन लगाएर निकाल्ने प्रयास भइरहेको छ।

अविरल वर्षापछि नारायणी नदीमा आएको भीषण बाढीले नदीमा सञ्चालन भइरहेको क्रुजलाई बगाएर पुलको दायाँ किनारातर्फ अन्तिम पियर र एबटमेन्टको बीचमा लगेर अड्काएको हो।

करिब ७० टन तौलको क्रुज पुलमा अड्किएपछि सडक विभागले तत्काल उद्धार अभियान अघि बढाएको छ। क्रुज निकाल्न दुई वटा सडक आयोजनाका क्रेन र त्रिशूलीस्थित जलविद्युत् आयोजनाबाट ८० टन क्षमताको अर्को क्रेन घटनास्थलमा ल्याइएको छ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार क्रुजसम्म पुग्न ट्र्याक खोलिसकिएको छ। प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर क्रुज हटाउने काम अघि बढाइएको उनले बताए।

‘हामीले तीन ठाउँबाट क्रेन ल्याएर काम सुरु गरिसकेका छौँ। क्रुजसम्म पुग्ने ट्र्याकसमेत खोलिसकेका छौँ। अहिले टोली तयारी अवस्थामा छ,’ न्यौपानेले भने।

उनका अनुसार केही घण्टामै क्रुज निकाल्ने लक्ष्यसहित काम भइरहेको छ।

असोज ९, १० र ११ गते परेको अविरल वर्षाका कारण गण्डकी बेसिनमा पानीको बहाव अत्यधिक बढेको थियो। नारायणी नदी खतराको तहभन्दा निकै माथि पुगेपछि आएको बाढीले क्रुजलाई आफ्नो नियन्त्रणमा लिँदै पुलतर्फ धकेलेको हो।

बाढीको बहावले करिब ७० टनको विशाल संरचना नै बगाएर पुलमा पुर्‍याएपछि अहिले त्यसलाई निकाल्न ठूलो क्षमताका क्रेन र सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ।

करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको राइनो क्रुजलाई नेपालकै पहिलो क्रुजका रूपमा लिइन्छ। बाढीले क्रुज नै बगाएर पुलमा अड्काएपछि यसको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा समेत चर्चामा छन्।

सडक विभागले क्रुज हटाएपछि पुल तथा आसपासको संरचनामा परेको असरको थप मूल्यांकन गर्ने जनाएको छ।

नारायणीको बाढीले यसपटक सडक, पुल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। तर १५ करोडको क्रुज नै बाढीले बगाएर पुलमा अड्किएको घटनाले भने विपद्को भयावहता थप प्रस्ट पारेको छ।

Related Post