काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा ठूलो मानवीय क्षति गरेको छ। पछिल्लो दुई दिनमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको हो। एक जना बेपत्ता छन्। यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही क्षेत्रमा पहिरोले आठ वटा घरसमेत बगाएको प्रहरीले जनाएको छ।
त्यस्तै, तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। सोही घटनामा हस्तवीरकी श्रीमती बेपत्ता भएकी छन्।
निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एउटै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्।
यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचना र सतर्कताका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ।
लगातारको वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रमा उद्धार र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।