पाल्पामा ढुङ्गा प्रहार गरी हत्या गरेर फरार व्यक्ति पक्राउ

45

 

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, खहरेमा ढुङ्गा प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा फरार रहेका व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–४, जन्तिलुङका ४० वर्षीय नारायण लम्तरी रहेका छन्।

प्रहरीका अनुसार गत कात्तिक ६ गते साँझ करिब ६ः०७ बजे आपसी विवादका क्रममा लम्तरीले तिनाउ गाउँपालिका–६, खहरे सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईमाथि ढुङ्गालगायतका वस्तुले पटक–पटक प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका बजगाईलाई उपचारका लागि पाल्पा अस्पताल तानसेन पुर्‍याइएको थियो। तर, चिकित्सकले सोही दिन राति ८ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार रहेका लम्तरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त टोलीले खोजी गर्ने क्रममा सोमबार साँझ करिब ६ः१५ बजे रैनादेवी छहरा गाउँपालिका–४, छहराबाट पक्राउ गरेको हो।

पक्राउ परेका लम्तरीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Related Post