44
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि बाध्य भएर हवाई फायर गर्नुपरेको हो।
स्थानीय चिसापानीमा लागेको मेलाका क्रममा दुई पक्षबीच विवाद उत्पन्न भई झडपमा परिणत भएको थियो। स्थिति साम्य पार्न पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ। झडपमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको डीएसपी राठौरले जानकारी दिए।
घटनामा घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।