मृत्युदण्डको सजायपछि पनि देश फर्किने शेख हसिनाको घोषणा, डिसेम्बर १६ मा ढाका आउने तयारी

मृत्युदण्डको सजायपछि पनि देश फर्किने शेख हसिनाको घोषणा, डिसेम्बर १६ मा ढाका आउने तयारी
42

 

काठमाडौँ । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। उनले ढाका फर्किनका लागि बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान ‘बिमान बङ्गलादेश एयरलाइन्स’को व्यवस्था मिलाउन सरकारसँग आग्रहसमेत गरेकी छन्।

हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार सार्वजनिक गरेको वक्तव्यमा उनले दिल्लीबाट ढाकासम्मको हवाई यात्रा सरकारले व्यवस्था गरिदिनुपर्ने माग गरेको बताएका छन्। सन् २०२४ अगस्ट ५ मा आफूलाई बङ्गलादेशी विमानमार्फत भारत पुर्‍याइएको उल्लेख गर्दै उनले स्वदेश फर्कने व्यवस्था गर्नु सरकारको जिम्मेवारी भएको दाबी गरेकी छन्।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो। सन् १९७१ मा पाकिस्तानविरुद्धको मुक्ति युद्धमा विजय हासिल गरेको सम्झनामा बङ्गलादेशले उक्त दिन राष्ट्रिय दिवस मनाउँदै आएको छ। यही दिनलाई रोजेर स्वदेश फर्किने घोषणा गर्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना भारत पुगेकी थिइन्। सन् २०२४ को आन्दोलनका क्रममा भएको हिंसात्मक दमनमा सयौँ प्रदर्शनकारीको ज्यान गएको घटनामा उनको संलग्नता रहेको अभियोग लागेको थियो। संयुक्त राष्ट्रसङ्घले उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनासम्म मारिएको अनुमान गरेको छ।

यसै अभियोगमा बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बरमा हसिनालाई अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने उक्त फैसला अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गर्दै आएकी छन्। स्वदेश फर्किएपछि कानुनी लडाइँ लड्ने उनको भनाइ छ।

तर, हसिनाको स्वदेश फिर्तीको घोषणालाई बङ्गलादेश सरकारले सहज रूपमा लिएको छैन। प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उनी फर्किए तत्काल पक्राउ गरी जेल चलान गर्ने स्पष्ट पारेको छ। विदेश राज्यमन्त्री शमा ओबैद इस्लामले हसिना भारतबाट फर्किए पक्राउ गरिने र कानुनी प्रक्रिया अघि बढ्ने बताएकी छन्। सरकारले उनलाई सुपुर्दगी सन्धिअनुसार भारतले बङ्गलादेशलाई हस्तान्तरण गर्नुपर्ने मागसमेत गर्दै आएको छ।

यता, हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध कायमै छ। उनको स्वदेश फिर्तीको माग गर्दै समर्थकहरूले प्रदर्शनसमेत गरिरहेका छन्। पछिल्लो समय बङ्गलादेशका विभिन्न जिल्लामा बम विस्फोट र आगजनीका घटना बढेको विवरण सार्वजनिक भएका छन्।

हसिनाको स्वदेश फर्किने घोषणापछि बङ्गलादेश र भारतबीचको कूटनीतिक सम्बन्धमा समेत थप दबाब सिर्जना हुने देखिएको छ। भारतले बङ्गलादेशको सुपुर्दगीसम्बन्धी मागबारे यसअघि विचार गरिरहेको बताएको थियो। तर, हसिनालाई डिसेम्बर १६ मा स्वदेश फर्काउन विमान उपलब्ध गराउने विषयमा भारतको पछिल्लो औपचारिक धारणा सार्वजनिक भएको छैन।

यसअघि पनि डिसेम्बरमा स्वदेश फर्किने बताउँदै आएकी हसिनाले पहिलोपटक डिसेम्बर १६ को निश्चित मिति सार्वजनिक गरेकी हुन्। यद्यपि, उनको यात्रा र स्वदेश फिर्तीको प्रक्रिया अझै अनिश्चित छ।

Related Post