यौन दुर्व्यवहारको आरोप पुष्टि भएपछि अमेरिकी सांसदले दिए राजीनामा, डिसेम्बर १ देखि पदमुक्त हुने

यौन दुर्व्यवहारको आरोप पुष्टि भएपछि अमेरिकी सांसदले दिए राजीनामा, डिसेम्बर १ देखि पदमुक्त हुने
33
 

 

काठमाडौँ । यौन दुर्व्यवहारसम्बन्धी गम्भीर आरोपमा अमेरिकी संसद्को एथिक्स कमिटीको प्रतिवेदन सार्वजनिक भएपछि डेमोक्रेटिक पार्टीका सांसद जिमी गोमेजले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने गोमेजले सोमबार एथिक्स कमिटीको प्रतिवेदन सार्वजनिक भएको केही मिनेटमै प्रतिनिधिसभाको सदस्य पद छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।

कमिटीको प्रतिवेदनमा गोमेजले हाउस अफ रिप्रेजेन्टेटिभ्सकी एक कर्मचारीसँग उनको सहमतिबिना यौन सम्पर्क राखेको घटनासहित यौन दुर्व्यवहारका ठोस प्रमाण फेला परेको उल्लेख छ। कमिटीले उनको व्यवहारलाई गम्भीर प्रकृतिको यौन दुर्व्यवहार वा यौन हमलाको श्रेणीमा पर्न सक्ने निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा उल्लेख गरिएका सबै निष्कर्षप्रति आफू पूर्ण रूपमा सहमत नरहेको गोमेजले बताएका छन्। तर घटनाको गम्भीरता बुझेकाले पदमा रहिरहन नसक्ने उनको भनाइ छ।

एक विज्ञप्तिमार्फत उनले वैवाहिक सम्बन्धबाहिर गरेका व्यक्तिगत गल्तीहरूको जिम्मेवारी आफूले लिने बताएका छन्। यसअघि पनि आफूले व्यक्तिगत गल्ती स्वीकार गरिसकेको उल्लेख गर्दै उनले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारीबाट पछि नहट्ने संकेत गरेका छन्।

गोमेजको राजीनामा आगामी डिसेम्बर १ देखि लागू हुनेछ। आफ्नो कार्यालयमा रहेका कर्मचारीले सर्वसाधारण तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित बाँकी काम पूरा गर्न पर्याप्त समय पाऊन् भन्ने उद्देश्यले तत्कालै पद नछाड्ने निर्णय गरेको उनले बताएका छन्।

 

 
 

Related Post