काठमाडौँ । नेपाली कांग्रेसभित्र पदाधिकारी र कार्यसमिति सदस्यको संख्या बढाउने होड देउवा पक्षमा पनि सुरु भएको छ। पार्टीलाई समावेशी बनाउने आवरणमा जिल्ला र प्रदेश तहदेखि केन्द्रीय कार्यसमितिसम्मै पद थप्ने तयारी अघि बढाइएको छ। तर यसको भित्री उद्देश्य समावेशितासँगै पदको आकांक्षा राख्ने नेताहरूलाई व्यवस्थापन गर्नु रहेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अहिले प्रदेश अधिवेशनहरू तीव्र गतिमा अघि बढाइरहेको छ। यही समयमा विधानको नयाँ व्यवस्थामार्फत पदाधिकारी र सदस्य संख्या बढाइएको हो। जिल्ला तथा प्रदेश तहमा पद थपिसकेको देउवा पक्ष अब केन्द्रीय कार्यसमितिको आकारसमेत बढाउने तयारीमा देखिएको छ।
पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिअन्तर्गत शिवप्रसाद हुमागाईं संयोजक रहेको विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाका आधारमा बाधा अड्काउ फुकाउमार्फत नयाँ व्यवस्था लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार जिल्ला सभापतिले क्षेत्रीय प्रतिनिधिमध्येबाट नाम प्रस्ताव गरी एक उपसभापति, एक सचिव र एक सहसचिव थप निर्वाचित गर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सभा सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था पनि थपिएको छ।
प्रदेश तहमा पदाधिकारीको संख्या झन् ठूलो बनाइएको छ। यसअघि दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था रहेकामा अब दुवै पदमा चार–चार जना रहनेछन्। तीन जना उपसभापति र तीन जना महामन्त्री निर्वाचित हुनेछन् भने एक–एक जना मनोनीत गरिनेछ।
सहमहामन्त्रीको संख्या पनि बढाएर पाँच पुर्याइएको छ। एक महिलासहित ४० वर्षमुनिका युवालाई समेटेर तीन जना निर्वाचित हुनेछन् भने दुई जना मनोनीत हुनेछन्। कोषाध्यक्ष एक जना मनोनीत हुने व्यवस्था गरिएको छ।
कार्यसमिति सदस्यमा पनि उमेर र समावेशिताका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। १८ देखि २८ वर्ष उमेर समूहका तीन जना र ४० वर्षमुनिका पाँच जना सदस्य रहनेछन्। विषयविज्ञ, पेसागत समूह, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित, सहिद परिवार, श्रमिक, अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिलाई समेत समेट्ने व्यवस्था गरिएको छ।
प्रदेशअनुसार कार्यसमितिको आकार पनि ठूलो बनाइएको छ। कोशीमा १२३, मधेसमा १०२, बागमतीमा १२४, गण्डकीमा १००, लुम्बिनीमा ११२, कर्णालीमा ८९ र सुदूरपश्चिममा ८९ सदस्यीय कार्यसमिति रहनेछ।
१५औँ महाधिवेशन तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले तल्लो तहका कार्यसमितिलाई थप समावेशी बनाउन पदाधिकारी र सदस्य संख्या बढाइएको बताएका छन्।
तर पदाधिकारी थप्ने निर्णयलाई केवल समावेशिताको विषयका रूपमा मात्रै हेर्ने अवस्था छैन। पार्टीभित्र पदको आकांक्षा राख्ने नेताहरूको संख्या बढ्दै जाँदा उनीहरूलाई व्यवस्थापन गर्न पद थप्ने रणनीति अपनाइएको चर्चा पनि छ। जिल्ला र प्रदेशमा सुरु भएको यही अभ्यास अब केन्द्रसम्म पुग्ने संकेत देखिएको छ।
मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा केन्द्रीय कार्यसमितिको आकार बढाउने विषयले प्रवेश पाउने सम्भावना छ। कुईकेलले पनि केन्द्रमा पदाधिकारी संख्या यथावत् राख्ने वा थप समावेशी बनाउने भन्ने विषय महाधिवेशनकै बेला छलफल हुन सक्ने बताएका छन्।
देउवा पक्षका लागि सबैभन्दा ठूलो चुनौती नेतृत्व व्यवस्थापन देखिएको छ। अधिकांश पूर्वपदाधिकारी देउवा पक्षमै रहे पनि देउवा स्वयं विधानअनुसार अब सभापतिको उम्मेदवार बन्न पाउने छैनन्। यस्तो अवस्थामा सभापतिदेखि पदाधिकारीसम्मका आकांक्षीलाई कसरी मिलाउने भन्ने चुनौती थपिएको छ।
सभापति पदका लागि शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत र एनपी साउदको नाम चर्चामा छ। तर उनीहरूमध्ये कसैले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उपसभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र नेता भूपेन्द्रजंग शाही महामन्त्रीका दाबेदार देखिएका छन्। अन्य पदमा भने नेताहरू खुलिसकेका छैनन्।
यसअघि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनमा पनि पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या बढाएको थियो। त्यहाँ पनि आकांक्षीको चाप व्यवस्थापन गर्न पदाधिकारी थपिएको थियो। तर संख्या बढाउँदा पनि चुनावी प्रतिस्पर्धा रोकिएको थिएन।
देउवा पक्षले भने अहिलेसम्म कुनै पनि तहको अधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाएको छैन। सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। गण्डकी प्रदेशमा समेत आकांक्षी धेरै भए पनि निर्वाचनको सट्टा सहमतिकै प्रयास जारी छ।